FAQs Complain Problems

भद्रपुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाहरुलाई विधान/प्रमाणपत्र वितरण तथा अभिमुखीकरण कार्यक्रम

भद्रपुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाहरुलाई विधान/प्रमाणपत्र वितरण तथा अभिमुखीकरण कार्यक्रम

 

यही मिति २०७३ पौष २१ गतेका दिन भद्रपुर नगरपालिकामा टोल विकास संस्था सञ्चालन कार्यविधि, २०७३ अनुसार हालसालै गठन भएका टोल विकास संस्थाहरुका पदाधिकारीहरुलाई एकदिने अभिमुखीकरण प्रदान गर्नुका साथै संस्थाहरुलाई दर्ताको प्रमाणपत्र एवम् विधान प्रदान गरियो ।

नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख एवम् कार्यकारी अधिकृत श्री काजीमान  राईज्यूले गर्नु भएको थियो भने कार्यक्रममा नगर स्तरीय सर्वदलिय संयन्त्रका तर्फबाट ने.क.पा.माओवादी केन्द्रका श्री हेमराज भण्डारी, ने.क.पा.एमालेका श्री असारु राजवंशी, रा.प्र.पा.नेपालका श्री बाबुराम पराजुली, संघीय समाजवादी फोरमका श्री सफिउर रहमान, रा.प्र.पा.का श्री काजीलाल डंगोल, राष्ट्रिय जनमुक्ति पार्टीका श्री विष्णु राजवंशीको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमा कार्यकारी अधिकृत काजीमान राईले टोल विकास संस्थाको अवधारणा, गठन तथा सञ्चालन प्रक्रियाका बारे जानकारी प्रदान गर्नु भएको थियो भने उनले नगरको विकास-निर्माणको प्रक्रियामा सहभागी हुन कोही पनि नागरिकले वञ्चित हुन नपरोस्, आफ्नो गाउँ-टोलको सबै किसिमका गतिविधिमा त्यहाँका नागरिकको सक्रिय सहभागिता रहोस् भन्ने उद्देश्यले सरकारले टोल विकास संस्थाको अवधारणा ल्याएको उल्लेख गरेका थिए ।

उक्त अभिमुखिकरण कार्यक्रममा नवगठित टोल विकास संस्थाका पदाधिकारीहरुले विविध जिज्ञासाहरु राखेका थिए भने सोको जिज्ञासाहरुको निराकरण कार्यकारी अधिकृतज्यूले गर्नु भएको थियो ।

सामुदायिक प्रयासमा टोलको संस्थागत, सामाजिक, तथा आर्थिक विकास, स्थानीय स्तरमा सुशासन पर््रवर्द्धन गर्न नगरपालिकाको शहरी वस्तीहरुमा निश्चित भौगालिक क्षेत्रभित्र रहेका सबै घरधुरी सदस्य रहने गरी स्थानीयस्तरमा वडा समितिको मातहत तथा सहयोगीको रुपमा रहने गरी गठन गरिने टोल विकास संस्था र सो संस्थाको कामलाई व्यवस्थित गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्यविधि कार्यान्वयनमा ल्याएको कार्यकारी अधिकृतले कार्यक्रममा जानकारी गराउनु भएको थियो ।

भद्रपुर नगरपालिकाको १५ वटै वडामा ८१ वटा टोल विकास संस्था गठन भएकोछ जस अनुसार वडा नं. १ मा ६, वडा नं.२ मा १०, वडा नं.३ मा ३, वडा नं.४ मा ४, वडा ‌नं.५ मा ६, वडा नं.६ मा ४, वडा नं.७ मा ४, वडा नं.८ मा ४, वडा नं. ९ मा ४, वडा नं.१० मा ४, वडा नं.११ मा ७, वडा नं.१२ मा ७, वडा नं. १३ मा ४, वडा नं.१४ मा ८ र वडा नं.१५ मा ६ वटा टोल विकास संस्थाहरु गठन भएकोछ ।

वडा नागरिक मञ्चका संयोजक तथा प्रतिनिधि एवम् सामाजिक परिचालकहरु समेतको उपस्थितिमा सम्पन्न अभिमुखिकरण कार्यक्रममा राजनैतिक दलका तर्फबाट असारु राजवंशी, बाबुराम पराजुली, हेमराज भण्डारी, वडा नागरिक मञ्चका तर्फबाट गोमा भट्टराई, मित्रा भट्टराई तथा टोल विकास संस्थाका तर्फबाट युवराज खतिवडाले मन्तव्य राख्नु भएको थियो ।